पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको संख्या बढ्दो छ । जसको मुख्य कारण मदिराजन्य पदार्थ हो । रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खानेनली आदिलाई गर्छ । रक्सीले हाम्रो शरिरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्नि थाल्छ । लगातार मदिरा सेवन गरेमा विस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । अब जानौं, मदिराका कारण कलेजोमा आउने समस्याबारे :

सिरोसिस

सिरोसिस कलेजो कडा हुने समस्या हो । लामो समयसम्म लगातार मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिसको समस्या हुने गर्छ । सिरोसिस दुई चरणमा हुने गर्छ । पहिलो चरणमा आँखा पहेंलो हुने, रगत बान्ता हुने, पेटमा पानी जम्मा हुने, बेहोस हुने र मिर्गौलामा समस्या देखिने हुन्छ । दोस्रो चरणमा पुग्दा कलेजो पूरै कडा भइसकेको हुन्छ । जसलाई मेडिकल भाषामा सिएलडि भनिन्छ । यो अवस्थामा पुगिसकेपछि कलेजो प्रत्यारोपणबाट मात्र उपचार सम्भव हुन्छ ।

क्यान्सर

लामोसमयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुको अवस्थामा शल्यक्रियाबाट उपचार गर्न सहिन्छ । तर, गम्भीर रुपमा कलेजोमा क्यान्सर भएमा उपचार सम्भव हुँदैन ।

कलेजोको काम

कलेजो शरीरभित्रको दोस्रो ठुलो अंग हो । यसले शरीरलाई आवश्यक उर्जा भण्डारण गर्ने, विषाक्त पदार्थ बाहिर निकाल्ने र खाना पचाउने काम गर्छ । यो करिब पाँचसय भन्दाबढी शारीरिक गतिविधिमा संलग्न हुन्छ । कलेजोले प्रोटिन, कार्बोहाइडेट र फ्याटलाई समेत पचाउने काम गर्छ ।

फ्याटी लिभर

फ्याटी लिभर कलेजोमा देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्ण रुपमा छाडेमा कलेजो सामान्य रुपमा फर्किन सक्छ । कलेजोमा बोसो जमेको भिडियो एक्सरेबाट पत्ता लगाउन सकिन्छ ।

अल्कोहोलिक हेपाटाइटिस

फ्याटी लिभरको समस्या भइसकेपछि पनि मदिरा पिउन नछाडेमा अल्कोहोलिक हेपाटाइटिसको समस्या हुने गर्छ । जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापर्दा समेत मदिरा सेवन बन्द नगरेमा जनिडसको समस्या बल्झिदै जाने हुन्छ । जो अल्कोहलिक हेपाटाइटिस हो । यसका कारण रगत एकदमै पातलो हुन्छ । करिब ५० प्रतिशत विरामीको मृत्यु अल्कोहोलिक हेपाटाइटिसले हुने गरेको पाइन्छ ।

डा. जिवेश्वरलाल झा
जनरल सर्जन
मनमोहन मेमोरियल अस्पताल