इटहरी : वर्षायामको समय खानेपानी सेवन गर्दा सचेत रहन इटहरी उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।

खानेपानीको गुणस्तरसम्बन्धि सरोकारवालासंग सचेतना कार्यक्रम आयोजना गरेर त्यस्तो आग्रह गरेको हो । इटहरी उपमहानगरपालिकाको आयोजना र पानी परिक्षण प्रयोगशाला इटहरीको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा पानी परिक्षण प्रयोगशालाका अधिकृत रमेशकुमार यादवले पानी परिक्षण गरेर मात्र पिउनु पर्ने सुझाव दिए । पानीको रंग भिन्न देखिएमा वा प्राकृतिक स्वादमा फरक परेमा त्यस्तो पानी पिउन नहुने उनले सुझाव दिए । उनका अनुसार आर्सेनिकयुक्त पानी पिउनु हँुदैन । यस्तो पानीले क्यान्सरको खतरासमेत हुने गर्दछ ।

त्यस्तैगरी, उद्योग प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाईले उपमहानगरले पानी उद्योगहरु अनुगमन गरिएको जानकारी दिए । चार वटा पानी उद्योगको अनुगमनका क्रममा प्रशोधन र फिलिङ्ग एकै ठाउँमा गरिएको पाइएको बताए । उनले पानी उत्पादक कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पानीको गुणस्तर परिक्षण गर्न सुझाव दिए । अनुगमनका क्रममा १५ दिनभित्रमा गुणस्तर सुधार गर्न पानी उद्योगलाई निर्देशन दिइएको समेत उनले जानकारी दिए । सचेतना कार्यक्रममा सहजिकरण गर्दै जनस्वास्थ्य नीरिक्षक दामोदर गौतमले शुद्ध पानी प्रयोग गर्नाले ५० प्रतिशत रोग लाग्नबाट बच्न सकिने बताए ।

सो कार्यक्रममा जनस्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडी र शिक्षा शाखा प्रमुख अम्बिका कुमारीले पानी जीवन भएकाले सफा पानी सेवन गर्न आग्रह गरे ।