धरानः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कार्यकारीणी समितिको सदस्यमा प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. पशुपति चौधरी मनोनित भएका छन् ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०४९ को दफा १० को उपदफा (१) ङ बमोजिम प्रतिष्ठानका विभागीय प्रमुखहरु मध्येवाट उपकुलपतिको सिफारिसमा कार्यकारिणी समितिको सदस्य पदमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. चौधरीलाई मनोनयन गरेको हुन् ।

विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्ता लगायत प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि गठित विभिन्न समितिहरुमा रही चौधरीले अनुभव बटुलीसकेका छन् । डा. चौधरीले प्रतिष्ठानको कार्यकारीणी समितिको सदस्यमा मनोनयन गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो पद अनुरुपको कर्तव्य तथा आचरण पालन गरी प्रतिष्ठानको विकास, विस्तार र सञ्चालनमा महत्वपूर्ण योगदान दिने प्रतिवद्धता जनाए ।