धरान(डेस्क) : पहाडी जिल्ला पाँचथर र भोजपुरमा पनि डेंगुको संक्रमित फेला परेका छन् । निरन्तर ज्वरो आएपछि अस्पतालमा पुगेका पाँचथर फिदिम–१ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी, वडा नम्बर ४ मा रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत नायब सुब्बा पुरुषोत्तम पौडेल र फिदिम – १२ का रामप्रसाद राईमा डेंगुको संक्रमण देखिएको फिदिमस्थित समर्पित अस्पतालका सूचना तथा सम्पर्क अधिकारी शिशिर आङ्बोले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल र एक जनालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको छ।  धरानमा व्यापक रुपमा फैलिएको डेंगु संक्रमण पहाडी जिल्लामा पनि देखिएको हो । पहाडी जिल्लाका लागि यो नौलो भएको चिकित्सक बताउँछन् । मच्छडका कारण यसको संक्रमण हुने गर्छ । पाँचथर जिल्ला अस्पतालमा डेंगु परीक्षण गर्ने किट्स छैन ।
यसैगरी भोजपुरमा पनि डेंगुको सक्रमण देखिएको देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको हो । केही समय अघिबाट बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो । परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ । आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन भनिएको गाउँपालिकाका प्रमुख ध्रुवराज राईले जानकारी दिए ।