अधिकांश नवजात शिशुमा केही न केही मात्रामा जन्डिस देखापर्छ । प्रायः जन्मेकोे १ देखि ३ दिनभित्र यो देखापर्छ र ४ देखि ५ दिनसम्म बढ्दै जान्छ । १ देखि २ हप्ताभित्र जन्डिसको लक्षण हराएमा यसलाई सामान्य जन्डिस भनेर बुझ्न सकिन्छ । यस्तोमा शिशुको अनुहारमा पहेँलो देखिन्छ । अनुहारमा मात्र देखिने जन्डिस गम्भीर प्रकृतिको नहुन सक्छ । तर, हत्केला र पैतालातिर पनि पहेँलो देखिन थाल्यो भने गम्भीर रूपमा लिनुपर्छ ।

किन हुन्छ ?

१, नवजात शिशुमा धेरै मात्रामा बिलिरुविन बन्ने भएकोले जन्डिस देखिने गर्छ ।
२, रातो रक्तकोष टुक्रिएर बिलिरुविन बन्छ । यसलाई कलेजोले राम्ररी हटाउन नसक्दा जन्डिस देखापर्छ ।

जन्डिस भएमा के हुन्छ ?

१, सामान्य किसिमको जन्डिस कुनै असर नगरी आफैँ हराएर जान्छ ।
२, गम्भीर किसिमको कडा जन्डिस भएमा शिशुको कलेजो खराब हुने, शिशुको मस्तिष्कमा गम्भीर असर पर्ने, कालान्तरमा शारीरिक तथा मानसिक सुस्तता आउने र शिशुको मृत्युसमेत हुन सक्छ ।

कस्ता शिशु जोखिममा ?

१, समय नपुगी (३७ हप्ताअगावै) जन्मेका कम तौल भएका शिशुमा यस्तो जोखिम हुन्छ ।
२, पर्याप्त मात्रामा स्तनपान गर्न नसकेका शिशुमा पनि जोखिम रहन्छ ।
३, रगतको समूह आमाको भन्दा फरक भएका शिशुमा पनि जोखिम देखिन सक्छ । शिशुलाई संक्रमण भएमा पनि यस्तो हुन्छ ।
४, शिशुमा आन्तरिक रक्तश्राव भएमा वा जन्मजात अन्य समस्या भएमा जोखिम रहन्छ ।

लक्षण

शिशुको अनुहारको छाला तथा आँखा पहेँलो हुनु जन्डिसको पहिलो लक्षण हो । यो अनुहारबाट सुरु हुँदै,घाँटी, छाती, पेट, हत्केला र पैतालासम्म पुग्न सक्छ । यसरी फैलिएमा गम्भीर अवस्था भनेर बुझ्नुपर्छ । स्वास्थ्यसंस्थामा गई बिलिरुविन जाँच गराएर जन्डिसको अवस्था पत्ता लगाउन सकिन्छ ।

रोकथामका उपाय

१, गर्भावस्थामा आमाको रगतको समूहको परीक्षण गर्नुपर्छ ।
२, गर्भावस्थामा आमाले यथेष्ठ पौष्टिक आहार खानुपर्छ । जसले गर्दा स्वस्थ र सामान्य तौलको शिशु जन्मने सम्भावना बढ्छ ।
३, जन्मपश्चात् शिशुलाई दिनमा १० देखि १२ पटकसम्म स्तनपान गराउने गर्नुपर्छ ।

शिशुको उपचार कसरी गर्ने ?

घरमै न्यानो बनाएर राख्ने, पटक–पटक प्रशस्त मात्रामा स्तनपान गराउने । बिहानको कलिलो नपोल्ने घाममा १ वा २ घन्टा राख्ने । यसो गर्दा उज्यालो किरणले बिलिरुविन टुक्रिएर शरीरबाट बाहिरिन्छ । जन्मेको २४ घन्टाभित्र हत्केला वा पैतालासम्मै फैलिएर पहेँलो हुँदै गएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
डा. अविनाश कायस्थ, बालरोग विशेषज्ञ, गोल्डन कम्युनिटी