पथरी: मोरङ्गको पथरी शनिश्चरे ३ की ३७ बर्षीय टिकादेवी राना मगर वैदेशिक रोजगारीका क्रममा वहराइन पुगिन् । घरको आर्थिक अवस्था सुधार्ने उनको ध्येय थियो ।

करिब ४ वर्ष अघि वहराइन पुगेकी उनी घर फर्कदा भने दिर्घ रोग बोकेर आइन । श्रीमानसँगको खटपटले कमाउन विदेश पुगेकी उनी मृगौला रोगी बनेर नेपाल आइन् । वहराइनमा विरामी भएपनि के रोग भन्ने थाह भएन । नेपालमा आएर विभिन्न अस्पतालमा जाँच गर्दा मात्र थाह भयो, उनको मृगौला काम गर्न छोडिसकेको रहेछ ।

रोग थाह पाएपछि उपचार सुरु गरेकी उनले वहराइनमा बस्दा कमाएको सबै पैसा सकियो । त्यति मात्र होइन, उनका माइतीले दिएको पैसा पनि सकियो । आफ्नो भएको कमाई सकिए पनि उनको बाँच्ने इच्छा अझै उस्तै छ । झापा दमक घर भएका उनका श्रीमान पनि वैदेशिक रोजगारीमा गएका छन् । वहराइन पुगेका उनका श्रीमान ३ वर्ष देखी टिकादेवीको सम्पर्कमा छैनन् । श्रीमतीलाई दुःख पर्दा उनले पैसा पठाउन त के, सोधखोजसमेत गरेका छैनन् । श्रीमती रोगी भएको थाह पाएर पनि उनले वास्ता गरेका छैनन् ।

अहिले टिकादेवी मृगौलाको डायलायसिस गरिरहेकी छिन् । अब मृगौला प्रत्यारोपण नै गर्नु पर्ने छ । उनको हप्ताको ३ पटक डाइलासिस हुन्छ । जीवनभर साथ दिने बाचाकसमका साथ वैवाहिक बन्धनमा बाँधिएका श्रीमानले बिरामी भएको अवस्थाबाट साथ छोडे । उनी अहिले माइतीको सहयोगमा उपचार गराइरहेकी छिन् । विदेशमा आफुले कमाएको पैसा सकिएको छ । माइतबाट पाएको जमिन र अन्य सम्पत्ति पनि उपचारको क्रममा सकिएको छ । उनी आर्थिक संकटको चपेटामा छिन् ।

मृगौला पीडित मगरका भाईले मृगौला त दिने भए, तर मृगौला प्रत्यारोपणमा लाग्ने खर्च कतैबाट जुटेको छैन । खर्च अभावमा उनी अस्पतालको शैयामा छटपटाइरहेकी छन् । मृगौला प्रत्यारोपण गर्न ६ लाख रुपैयाँ भन्दा बढी लाग्ने भएपछि मगरको जीवन रक्षाको कामना गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ पथरी शनिश्चरे नगर समितीले संयुक्त रुप्मा अहिले उनको जिवनरक्षाको लागि अभियान थालेको छ । आर्थिक अवस्था नाजुक भएपछि अहिले उपचारमा समस्या भएकोले अभियान थालिएको ‘टिकादेवि राना मगर वचाउ अभियान’ का संयोजक टंक मगरले जानकारी दिए ।

संयोजक मगरले मृगौला पिडित टिकादेवि राना मगरको जिवन रक्षाको लागि सहयोग गर्न सम्पुर्णमा अपिल गरेका छन् । काठमाण्डौको अस्पतालमा हप्ताको ३ पटक डायलोसिस गराइरहेकी मृगौला पिडित टिकादेविको भदौ १५ गते सुमेरु हस्पिटलमा मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । प्रत्यारोपण गर्नुपर्ने मिति नजिकिदै गरेपनि उपचारको लागि रकम नभएपछि अभियान सञ्चालन गर्नुपरेको संयोजक मगरले बताए । टिकादेवि राना मगर वचाउ अभियानमा साथ दिन चाहानेले सिदार्थ बैंक पथरी शाखाको को खाता नं ००७१५२०५५६६ मा देशविदेशवाट रकम जम्मा गरि उनको उपचारमा सहयोग पुर्याउन अपिल गरेका छन् ।