इटहरी: एकिकृत कल्याण फाउण्डेशन साईन्स क्लब र एकिकृत कल्याण फाउण्डेशन नेपालको आयोजनामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

तरहरा मोडेल एकेडेमीमा भएको प्रतियोगितामा इटहरीको वडा नं. २, १९ र २० वडाका ६ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा तरहराको पूर्वाञ्चल बोर्डिङ स्कुल प्रथम भयो भने तरहरा मोडेल एकेडेमी द्धितीय भयो भने ब्राइट फ्युचर र प्याराडाइस तृतीय भएका थिए । । उनीहरुले छात्रबृत्ति र प्रमाणपत्र पाएका थिए । एकिकृत कल्याण फाउण्डेशन साईन्स क्लबका अध्यक्ष आदर्श खतिवडाले विभिन्न चरणमा प्रतियोगिता गरेको बताए । हामीले तरहरा, इटहरी, खनार, झुम्कामा प्रतियोगिता आयोजना गर्छौँ, उनले भने, त्यहाँबाट प्रथम र द्धितीय हुने टिम फाइनलमा सहभागी हुन पाउँनेछन् । उनका अनुसार अहिले बिजेता भएका स्कुललाई सहभागी गराई ग्राण्ड फिनाले आयोजना गरिनेछ ।

एकिकृत कल्याण फाउण्डेशन नेपालका अध्यक्ष श्याम घिमिरेले विद्यार्थीको क्रियटिभिटि र उनीहरुलाई उत्प्रेरित गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए । हामीले विद्यार्थीहरुलाई किताब भन्दा बाहिरका कुरा सिकाउन पनि यो कार्यक्रमको आयोजना गरेका हौँ, उनले भने, यो कुनै स्कुलले आयोजना गरेको नभई दुईवटा क्लबले आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले विद्यार्थीलाई उत्प्रेरित गर्नका लागि उक्त कार्यक्रमको आयोजना गर्नु सराहनीय रहेको तर्क गरे ।