धरान: १ नम्बर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा उदयपुरको गाइघाटस्थित लाली गुराँस माविका छात्र सुनिल घिमिरे प्रथम भएका छन् ।

ब्लाष्ट टाइम्स दैनिकको रजत महोत्सवको अवसरमा सोमबार धरानमा आयोजना ‘म अघि बढ्छु’ शिर्षकमा भएको प्रतियोगितामा घिमिरे प्रथम भएका हुन् । यो कार्यक्रम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको ‘म अघि बढ्छु’ कार्यक्रमको संयोजन र ब्लाष्ट टाइम्स दैनिकको आयोजनामा भएको थियो ।

कार्यक्रममा सुनसरीको बराहक्षेत्रस्थित सुनसरी एकेडेमीकी छात्रा स्मारिका पोखरेल दोस्रो भइन् भने मोरङको विराटचोकस्थित बाल सदन एकेडेमीकी छात्रा योभी गुरुङ तेस्रो भइन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने छात्राले क्रमशः २३८, २३५ र २३४ अंक पाएका थिए । कार्यक्रम धरान १५ स्थित युरेसिया रेयुकाई भवनमा आयोजना भएको थियो । प्रतियोगिता कुल ३ सय पूर्णाङ्कको भएको थियो ।

ma

प्रतियोगितामा निर्णायककोरुपमा महेन्द्र बहुमुखी क्याम्पस धरानका सह–प्राध्यापक डा.राजेन्द्र शर्मा, सह–प्राध्यापक हरिप्रसाद दाहाल र विराटनगरका वरिष्ठ पत्रकार तथा उप–प्राध्यापक यज्ञ शर्मा रहेका थिए । प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका १८ विद्यालयबाट २७ जना प्रतिष्पर्धी सहभागी थिए ।
प्रतियोगिता ब्लाष्ट दैनिकका सम्पादक गोपाल दाहालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि म अघि बढ्छु (सगरमाथा टिन्स क्लब)का संयोजक नवराज राई रहेका थिए । पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्टका सम्पादक किशोरकुमार कार्कीले विद्यार्थीहरुमा भविष्यप्रति सकारात्मक भावना जगाउने उद्देश्यले वक्तृत्वकला आयोजना गरिएको बताए ।

nawraj

प्रमुख अतिथी राईले किशोरकिशोरीलाई लागुऔषध दुव्र्यसन तथा कुलतबाट टाढै राखेर सकारात्मक सोचका साथ अघि बढ्न उत्प्रेरित गर्ने उद्देश्यले म अघि बढ्छु कार्यक्रम शुरुवात गरिएको बताए । उनका अनुसार यो कार्यक्रम प्रदेशको १४ जिल्लाको विद्यालयहरुमा सञ्चालन भएको छ । ‘त्यही क्रममा प्रदेशका गाउँ गाउँमा पुग्ने ब्लाष्ट दैनिकसँग सहकार्य गर्न पाउँदा खुसी छौं,’उनले भने ।

विजेताहरुलाई असोज २ गते ब्लाष्टको बार्षिकोत्सव समारोहमा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुनेले नगद १२ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, क्रमशः ब्लाष्टको वार्षिक, अर्धवार्षिक र त्रैमासिक ग्राहक सुविधा पनि दिइने ब्लाष्टले जनाएको छ ।