सुनसरी: जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका ६ ठाँउमा निः शुल्क स्वास्थ्य परीक्षण गरेको छ।

आज इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १ सय २६ को परीक्षण गरिएको हो । शिविरमा ल्याव सेवा र औषधी पनि निःशुल्क गरिएको छ । विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा मिथलेस कुमार गुप्ता,स्त्री रोग विशेषज्ञ डा.सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

साठी बर्ष माथिका जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । दिनभर पानी परे पनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले बताए । यसअघि वडा नम्वर १, ३, १२, १६ र १७ नम्वर वडामा पनि स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । पाँच ठाँउमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेट गरेका छन् । असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मासँग स्वास्थ्य सम्वन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।