काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणकाक्रममा आज शनिबार अपराह्न काठमाडौं आउँदैछन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । चिनियाँ राष्ट्रपति सी अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेभित्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भइसक्ने तालिका रहेको छ । त्यसपछि साँझ साढे ६ बजे राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तालगत्तै उनी राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जनाइएको छ । शनिबारै साँझ राष्ट्रपति सीसित प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् । आइतबार बिहान साढे १० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने बताइएको छ ।
त्यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । करिब १८ घन्टा नेपालमा बिताएर राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे पछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।