धरान: ‘साँस्कृतिक विविधताको सम्मान’ भन्ने नाराका साथ विश्व बायोइथिक्स दिवस मनाइएको छ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकूलपति एवम् शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्स र परस्परको सम्मान गर्नेबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने कुरा औंल्याए । बायोइथिक्स विज्ञ त्रिवि चिकित्सा संस्थान महाराजगञ्जका प्राडा रमेशप्रसाद आचार्यले कार्यक्रममा बायोइथिक्स र यस वर्षको अवधारणाबारे जानकारी दिए ।

बायोइथिक्सका नेपाल हेड प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मनन्को यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदैजाने बताए । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । कार्यक्रममा डा. अशोक ऐर, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी, विद्यार्थी संकायका डा. सुमित शर्मा लगायतले पनि प्रस्तुती दिएका थिए ।

rangoli

सोही दिवसको अवसरमा आयोजित फोटो प्रतियोगितामा स्नेहिल अग्रवाल, फिल्ममा प्रशन्न सुवेदीको समुह, आर्ट पोस्टरमा विवेक कट्टेल, टी–सर्ट डिजाइनमा शालु पराजुली, रंगोलीमा अक्षता श्रेष्ठ, अमृता मण्डल र रेनु शाहको समूह तथा निवन्धमा सदिच्छा खड्का उत्कृष्ट भएका छन् । नेपालका उत्कृष्टहरुमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्नेहिल अग्रवालको फोटो तेश्रो भएको छ । यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको हो ।

rangoli1