झापा: झापाको काकड्भिट्टाबाट बिर्तामोड चल्ने बसमा यात्रुको पैसा चोरी गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका २ की ४० बर्षीय बिमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुपैया चोरी गर्ने २ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भारतको पानिट्याङकी घर बताउने २५ बर्षकी पुजा गुल्ठा र कविता मण्डल रहेका छन् । पुजाको साथमा रहेको झोलाबाट चोरी भएको एक लाख रुपैया फेला परेको र उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिमलाले आज दिउँसो पौने २ बजेको समयमा मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा पुगेपछि आफुसंग भएको पैसा चोरी भएको थाह पाइन् । तत्काल प्रहरी चौकी चारआलीमा पीडितले दिएको हुलिया अनुसार खोजतलास तथा चेक जांच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिकबाट ती महिला पक्राउ परेका हुन् । उनीहरु काकड्भिट्टातर्फ टेम्पोमा चढेर जान लागेको अवस्थामा पक्राउ परेका थिए ।