इटहरी : के तपाईँ आफ्ना साना छोराछोरीलाई मादक पदार्थ र धुम्रपान किन्न पसल पठाउँनुहुन्छ ? यदि त्यसो हो भने आजैबाट यसलाई बन्द गर्नुहोस् । नभए कारबाहीमा पर्नुहोला । आफ्ना साना छोराछोरीलाई किराना पसल, होटल वा अन्य ठाउँमा मद्यपान र धुम्रपान किन्न पठाउँन नहुने कुरा कानुनमै बर्जित गरेको छ । तर, अहिले पनि समाजमा साना बालबालिकालाई धुम्रपान र मद्यपान किन्न पठाउने कुरा नौलो रुपमा छैन । बालबालिकालाई त्यसमा प्रयोग गरेको सूचना वा जानकारी पाए इटहरी २० ले कारबाही गर्नेछ ।

इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले १६ बर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई पसलमा मद्यपान र धुम्रपान किन्न पठाउने मानिस र बेच्ने दुवैलाई कारबाही गर्ने बताए । उनले भने, “यो हामीले बनाएको नियम हैन, कानुनमै उल्लेख गरिएको कुरा सम्भवत नेपालमै पहिलोपटक हामीले सुरु गर्न लागेका छौँ ।” मंगलबार तरहरामा ईलाका प्रहरी कार्यालय इटहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणसँग छलफल गरी उक्त निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।

“व्यापारीले पनि बेच्न नपाउँने हो, यदि किनबेच भएमा कानुनअनुसार दुवैलाई कारबाही गर्छौँ, उनले भने, सबैलाई कानुनको दायरामा ल्याउँनका लागि हामीले यो नियम गर्ने निर्णय गरेका हौँ ।” उनका अनुसार सानै उमेर समूहका बालबालिकाहरु कुलत, लागूऔषधमा समेत फस्दै गएकाले यसलाई निर्मूल पार्न समेत उक्त अभियान सञ्चालन गरिएको हो । श्रेष्ठले भने, “सभ्य कानुनको निर्माण गर्नका लागि हामीले यो अभियान चलाएका हौँ, यसमा सबैजना सचेत हुँन जरुरी रहेको छ ।” उनले नजिकिदैँ गरेको दीपावलीमा पनि जथाभावी पैसा लेनदेन हुने भएकाले एउटा निश्चित रकम मात्र सहयोग गर्न अपिल गरे । “अरुको अधिकार हनन नगरौँ, आफ्नो अधिकार प्रयोग गरौँ,” उनले भने, “तिहारमा हुने जुवातासको समेत निर्मूल पार्न हामीले अभियान चलाईराखेका छौँ ।” उनले खर्चिलो र भव्य तिहार रहँदै आएकाले यसमा पनि सचेत रहन आग्रह गरे । “आर्थिक रुपमा समस्या र मादक पदार्थ बढी चल्ने गरेको छ,” उनले भने, “तिहारमा दुर्घटनाबाट निधन समेत हुने भएकाले जुवातास खेल्ने र सार्वजनिक ठाउँमा मापसे गर्ने दुवैलाई कानुन बमोजीम कारबाही हुन्छ ।” उनले तिहारमा दशौँ हजार रुपैँया दिनुपर्ने चलन समेत हटाउँनुपर्नेमा जोड दिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले रातको समयमा मनोरञ्जन गर्ने काम बन्द हुनुपर्ने बताए । उनले भने, इटहरीमा राती ११ बजेपछि मनोरञ्जन गर्ने परम्परा रहेको छ यसको अन्त्य हुन जरुरी छ । उनले आम मानिसको नैसर्गिक अधिकार हनन हुने गरी काम नगर्ने जिकिर गर्दै सार्वजनिक ठाउँमा अरुलाई असर पुग्ने खालको कार्य गर्न नहुने तर्क गरे । तपाईँहरु रचनात्मक भएर सभ्य ढंगले आउँनुपर्यो, उनले भने, “निजी स्वार्थको नाममा हाम्रो समाज विग्रिरहेको छ, हाम्रो संलग्नतामा जुवातास र लागूऔषध कारोबारीलाई त्यतिकै छाड्ने कुरा हुँदैन ।” कार्यक्रममा अन्य सहभागीहरुले पनि आफ्नो तर्क राखेका थिए ।