विराटनगरः बोक्सोको आरोपमा मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशीको हत्यामा संलग्नलाई प्रहरीले २ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १९ बर्षीय भरतलाल राजवंशी रहेका छन् । घटना हुँदा उनी मात्र १७ बर्षका थिए । मृतक पहाडचन गाउँमा झारफुक र धामीझाक्रीकोरुपमा नाम चलेका थिए । उनैले बोक्सीको टुनामुना गरिदिएर आफ्नो बुवा गुमाउनु परेको भन्दै भरतलाले बन्चरो प्रहार गरेर पहाडचनको हत्या गरेका थिए । भरतलालले २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार गाउँमा धामीझाँक्रीको काम गरेर फर्कदै गर्दा पहाडचनको हत्या भएको थियो । बन्चरो प्रहारबाट टाउको, छाती र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको कारण उनको घटनास्थलमै मृत्यु भएको एसपी अधिकारीले बताए ।

पहाडचनको हत्या गरेर भारत फरार भएका भरतलाललाई प्रहरीले करिब अढाई बर्षपछि पक्राउ गर्न सफल भएको हो । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले गाउँमा लुकिरहेको अवस्थामा मंगलबार राती पक्राउ गरेको हो । बोक्सीको टुनामुना गरेर बुवाको मृत्यु भएको र आवेशमा आएर पहाडचनको हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रहरीका अनुसार धामीझाक्रीको काम गर्ने पहाडचनलाई बोक्सोको आरोपमा २०६९ असोज १३ गते मलमुत्र खुवाउँदै केही गाउँलेहरुले यातना दिएको थियो । उनी गाउँबाट विस्थापित भएका थिए । पछि प्रशासन र संघ संस्थाको सहयोगमा पुनःस्थापित गरिएको थियो । उनलाई मलमुत्र खुवाउने र गाउँ निकाला गर्नेहरुलाई कारबाही गरिएको थियो । तिनै मध्ये एक थिए, हरिप्रसाद राजवंशी । उनी अचानक विरामी परेर २०७४ जेठमा मृत्यु भएपछि परिवारजनले पहाडचनले टुनामुना गरेर मारेको भन्दै आरोप लगाएका थिए । तिनै हरिप्रसादका छोरा भरतलालले अन्ततः पहाडचनको विभत्स हत्या गरेर फरार भएका थिए ।