विवाहपछि गर्भधारण स्वाभाविक प्रक्रिया हो । तर, यसमा ध्यान दिन नसक्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ । त्यसैले गर्भधारणअघि यी विषयमा ख्याल राख्न आवश्यक छ । स्वास्थ्य परीक्षण बच्चा जन्माउने तयारीमा रहेका दम्पतीले एकपटक महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्छ । महिलामा कुनै रोग छ भने गर्भ रहनुअघि त्यसको निदान गर्नुपर्छ । जसले गर्दा स्वस्थ्य बच्चा जन्माउन सहयोग पुग्छ ।

महिलामा मधुमेह, थाइराइडजस्ता रोग छन् भने गर्भधारणअघि नै उपचार गर्नुपर्छ । जसले गर्भवती अवस्थामा हुने स्वास्थ्य जटिलताबाट बच्न सहयोग गर्छ । गर्भवती भएको सुरुको तीन महिनामा पहिलोपटक, अर्को तीन महिनापछि दोस्रोपटक स्वास्थ्य जाँच गराउनुपर्छ । सुत्केरी हुने महिनामा अन्तिमपटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसले गर्भवती महिलालाई सुरक्षित तवरले बच्चा जन्माउन मद्दत मिल्छ ।

गर्भधारण आफैँमा जटिल प्रक्रिया भएकाले गर्भावस्थाका महिलामा थुप्रै शारीरिक तथा मानसिक परिवर्तन देखापर्छन् । यस्तो अवस्थाको सामना गर्न गर्भवती हुनुपूर्व नै शारीरिक, मानसिक, आर्थिक रूपमा तयार हुनुपर्छ । गर्भधारणदेखि सुत्केरी नहुँदासम्म परिवारका सदस्य र पतिको पनि उत्तिकै सहयोग आवश्यक पर्छ ।

भिटामिन बी कम्प्लेक्स

गर्भधारण गर्न चाहने महिलाले करिब एक महिनाअघिदेखि भिटामिन बी कम्प्लेक्स सेवन गर्नुपर्छ । यसको प्रयोगले आमाको गर्भमा रहेको शिशुको नसा तथा मस्तिष्कको विकास रोकिने सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

समयमै गर्भधारण

महिलाले बच्चा जन्माउने उपयुक्त उमेर भनेको २० देखि ३० वर्षको हो । यस उमेर समूहका महिला शारीरिक तथा मानसिक रूपमा आमा बन्न तयार भइसकेका हुन्छन् । कम उमेर समूहका महिलाको शरीर गर्भधारणको लागि राम्रोसँग विकास भइसकेको हुँदैन । त्यसैले यस्ता महिलाबाट स्वस्थ्य बच्चा नजन्मने सम्भावना धेरै रहन्छ । कम उमेरमै बच्चा जन्माउँदा महिलामा उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घ रोगको जोखिम पनि उच्च हुने गरेको पाइन्छ । त्यस्तै, ३० वर्षभन्दा बढी उमेरमा गर्भधारण गर्दा शिशुमा अपांगता हुने जोखिम धेरै रहन्छ । त्यसैले महिलाले २० देखि ३० वर्ष्भित्रमा बच्चा जन्माइसक्नुपर्छ ।

दुई वर्ष जन्मान्तर

आमा र बच्चा स्वस्थ रहन जन्मान्तर एकदमै आवश्यक छ । पहिलो बच्चा जन्मेको दुई वर्षपछि मात्र दोस्रो गर्भधारण गर्नु राम्रो मानिन्छ । जसले गर्दा जन्मिसकेको शिशुलाई कुपोषणबाट जोगाउन सकिन्छ ।
डा. ज्ञानेन्द्रमानसिंह कार्की, वरिष्ठ स्त्रीरोग विशेषज्ञ, विराट अस्पताल