झापा: झापाको गौरीगञ्ज–१ स्थित रंगियाथान र झापा गाउँपालिका जोड्ने कनकाई नदीमा बाँसको पुल सञ्चालनमा ल्याइएको छ ।

गौरीगञ्ज र झापा गाउँपालिकाबीच आवातजावतका लागि स्थानीय अरुण मण्डलले बाँसको पुल निर्माण गरिदिएका हुन् । लक्ष्मीपूजाको अवसरमा पुल सञ्चालनमा ल्याइएको हो । स्थानीयलाई पुल नहुँदा आवातजावतमा कठिनाइ भइरहेको थियो । कनकाई नदीमा निर्माण भएको सो बाँसे पुलमा आवातजावत गर्न कनकाई नगरपालिका, गौरीगञ्ज, झापा र शिवसताक्षीका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

मुख्य राजमार्ग बाहेक दक्षिण क्षेत्रमा कनकाई नदि हालसम्म पक्की पुल निर्माण भएका छैनन् । पुल नहुँदा सर्वसाधारण कष्टकर ढङ्गले वारपार गर्दै आएका थिए । सवारी भएका नागरिक मुख्य राजार्गस्थित सुरुङ्गासम्म पुगेर घुमाउरो बाटोको प्रयोग गर्दै आएका छन् ।