धरान : धरान १८ वुद्ध चोकमा रहेको धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले आफ्नो विद्यार्थीहरूको प्रयोगात्मक कार्यको विषयमा जानकारी दिएको छ ।

हरेक वर्ष कलेजले आफ्नो विद्यार्थीको प्रयोगात्मक कार्यको विषयमा धरानका वुद्धिजिवि, शिक्षकहरूको समुह बोलाएर जानकारी गराउदै आएको छ । जम्मा १८ महिने कोर्समा विद्यार्थीहरूलाई ६ महिना कलेजमा नै शिक्षा दिने र बाकि १२ महिना चाइना, माल्दिभ्स, कतार, लगायतका विदेशी मुलुकमा पठाइने गरेको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले बताए । अहिले कलेजमा छैठौँ व्याचका विद्यार्थीहरू पढिरहेको बताउदै सिइओ श्रेष्ठले अहिलेसम्म २ सय भन्दा बढी विद्यार्थीहरूले शिक्षा लिएको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरूले स्टाटर अर्थात भोक जगाउनका लागि खाइने खानामा निकोलाज सलाद बनाएर कलेजमा उपस्थित व्यक्तिहरूलाई प्रदान समेत गरे । त्यसपछिको मेन कोर्षमा चिकन सटेड स्टीक एण्ड जर्मन डम्पलीङ नामक परीकार बनाएका थिए । अहिले कलेजमा विद्यार्थीहरूको प्रयोगात्मक कार्यलाई अझ प्रभावकारी बनाउनका लागि स्विजरल्यान्डका सेफ फ्रेङ्क जेटलले शिक्षा प्रदान गरीरहेका छन् । हरेक वर्ष कलेजले सम्बन्धित विषयको दक्ष व्यक्तिबाट विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सेफ फ्रेङ्क विगत ५० वर्षदेखि उक्त क्षेत्रलाई निरन्तरता दिइरहेका छन् । उनले सेफ भएर काम गरेको भने २५ वर्ष भइसकेको जानकारी दिए । कलेजले सेफ फ्रेङ्कसंग पत्रकारहरूसंग गरेको भेटघाट कार्यक्रममा बोल्दै फ्रेङ्कले नेपाली खानका परीकार निकै स्वादिष्ट भएपनि अन्तराष्ट्रिय रूपमा बजारीकरण गर्न आवश्यक रहेको बताए । उनले नेपाली खानाका परीकारले अझै पनि बजार लिन भने नसकेको बताए ।