विर्तामोड: कनकाई नगरलाई योगमय बनाउने अभियानको निरन्तरता स्वरुप कनकाईको वडा नं. ५ स्थित देवकोटा प्राथमिक विद्यालयमा पाँच दिने वृहत योग विज्ञान शिविर संचालन भएको छ ।

‘गरौं योग, रहौं निरोग’ भन्ने नारालाई अघि सार्दै पतञ्जली योग नगर समिति कन्काईले नगरका सवै वडामा योग अभ्यास संचालन गर्दै आएको छ । सोमवारदेखी पाँच दिनसम्म संचालन हुने बृहत योग विज्ञान शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको पतञ्जली योग नगर समिति कन्काईका अध्यक्ष टिकाप्रसाद कट्टेलले वताएका छन् । बोटविरुवामा भएको अत्याधिक विषादीको प्रयोग साथै अव्यवस्थित खानपानका कारण दिनप्रतिदिन वातावरण दुषित बन्दै गएको छ । यसरी अस्वस्थ वन्दै गएको
मानव समुदायमा पछिल्लो समय क्यान्सर लगायत विभिन्न किसिमका विरामीको संख्या बढ्दै गएकाले यसको विकल्प स्वस्थ खानपान र व्यायाम मात्र भएकाले नियमित योगअभ्यासमा ध्यान दिनुपर्ने कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले वताएका छन् ।

पानसमा द्विप बालेर योग शिविरको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले नगरका हरेक टोल टोलमा क्यान्सरका विरामीको संख्या बढ्न थालेपछि मानव स्वास्थ्य दिनप्रतिदिन दयनीय वन्दै गएकोमा दुःख व्यक्त गरेका छन् । नगरप्रमुख पोखरेलले स्वास्थ्य समस्याको न्युनिकरणकालागि नगरवासीलाई खानपान र योगअभ्यासमा विशेष ध्यान दिन अनुरोध गरेका छन् । पतञ्जली योग कनकाई नगर समितिले संचालन गरेको बृहत योग विज्ञान शिविरको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाई नगरका सवै वडामा क्रमिकरुपले योगअभ्यास र स्वस्थवद्र्धक खानपानका वारेमा सचेतना जगाउँन योग गुरुहरुलाई अनुरोध गरेका छन् ।

पतञ्जली योग कनकाई नगर समितिका अध्यक्ष टिकाप्रसाद कट्टेलको सभापतित्व रहेको पाँचदिने वृहत योग विज्ञान शिविरको संयोजन कनकाई नगर वडा नं. ५ ले गरेको कार्यक्रम संयोजक पुण्यप्रसाद ओझाले वताएका छन् । योग शिविर सम्पन्न गर्न देवकोटा प्राथमिक विद्यालय परिवारले महत्वपूर्ण भूमिका खेलेको
थियो भने विद्यालयका शिक्षक उमानाथ तिम्सिनाको संयोजकत्वमा एक संयोजन समिति गठन गरिएको वताइएको छ ।

पतञ्जली योग नगर समिति कनकाईका अध्यक्ष टिकाप्रसाद कट्टेलको सभापतित्व रहेको शिविरको पहिलो दिन योग समिति झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, दोस्रो दिन जिल्ला समितिका सहमहामन्त्री रुद्र ओली, तेस्रो दिन योग समिति झापा गाउँपालिकाका अध्यक्ष भविन्द्र भण्डारी, चौथो दिन १ नं. प्रदेशका युवा प्रभारी वावुराम वस्नेत र पाँचौ दिन पतञ्जली योग १ नं. प्रदेशका महामन्त्री लक्ष्मी काफ्ले लगायतका योग गुरुहरुले सहजीकरण गर्ने वताइएको छ । कार्यक्रम संयोजक उमानाथ तिम्सिनाले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन योग समिति कनकाईका महासचिव रामप्रसाद निरौलाले गरेका थिए ।