पथरी: पथरी बजार क्षेत्र भित्रको सडक अव्यवस्थित भएको भन्दै सडक खाली गराउन नगरपालिकाले प्रक्रिया थालेको छ ।

सडक खाली गराउन पथरी बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाउने कार्य थालिएको हो । प्रत्येक विहिवार र आइतवार पथरीमा हाट लाग्ने गरेको छ । नगर प्रमुख दिलिपकुमार राई, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन लगायतको टोलीले पार्किङ्ग निषेध स्टेन राखेर सडक क्षेत्र खाली गर्ने अभियान सुरु भएको हो । वजारका विभिन्न भागमा सवारी साधन रोक्न नपाउने नियम लगाइएको छ भने वजारका दिन फुटपाथमा पसल राख्न नपाइने नियम लगाइएको छ ।

पथरी वजारको बिष्ट लाइन, बजार लाइन र जाम हुने विभिन्न स्थानमा ३० वटा नो पार्किङ स्टेन राखिएको वडाध्यक्ष एङ्देनले जानकारी दिए । पथरीको सडकहरुमा जथाभावी पसल राख्ने, ट्याम्पु, सिटी रिक्साले पसल पसलमै यात्रु चढाउने, ओराल्ने र ब्यापारिक सामान लोड अनलोड गर्नाले ट्राफिक जाम बढ्दै गएको अवस्थामा सडक क्षेत्र खाली गर्ने अभियान अघि बढाएको छ । नगरपालिकाले पथरी बजार र सडन नियन्त्रण गर्न वडा अध्यक्ष बाबुराम एङ्देनको संयोजकत्वमा ट्राफिक ब्यबस्थापन समिति गठन गरेको थियो ।

ट्राफिक सचेतनाको लागि स्टेन राखिएको र पार्किङ निषेध क्षेत्रमा सवारी रोके वा पसल राखेमा नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघले नियम बनाएर जरिवाना राख्न सकिने ट्राफिक प्रहरी प्रमुख मनिराम कोइरालाले वताए । यस कार्यसंगै दुर्घटना न्युनिकरणमा पहल थालिएको कोइरालाको भनाइ छ ।