काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मालाई मिर्गौला फेर्न विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यरोपण गर्न लागिएको हो ।

स्रोतका अनुसार प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला परीक्षण भइरहेको छ । उनको स्वास्थ्य स्थितिबारे जानकारी दिने क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भए लगत्तै प्रत्यारोपण गर्ने तयारी भइरहको जानकारी दिएकी थिइन् । प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरुको छलफलमा जुटेका छन् । प्रत्यारोपणका लागि उनलाई विदशे लाने भनिए पनि कुनै देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ । -नागरिक दैनिकबाट