महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु भने समस्या हो । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पीडित छन् । किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्नेजस्ता हुन्छ । यस्ता समस्याका कारण नियमित काम गर्नसमेत गाह्रो हुने गर्छ ।

दुख्ने कारण

१, विभिन्न कारणले किशोरीहरूको तल्लो पेट दुख्ने गर्छ । त्यसमध्ये उनीहरूमा देखिने डिस्मोनोरिया मुख्य हो । खासमा यो समस्या विनाकारण हुने गर्छ । प्रायः जनेन्द्रियमा हुने यो रोग सेकेन्डरी फेजमा पुगेपछि यसले महिनावारी पीडादायक बनाउने गर्छ । पाँचदेखि १० प्रतिशतमा कहिलेकाहीँ जनेन्द्रियमा कुनै समस्या नभए पनि डिस्मोनोरिया हुन्छ । दुखाइ कम गर्न खाइने पिल्स, एस्पोरिन, बु्रफिन, सिटामोल आदि औषधि यसका कारक मानिन्छ । यस्तो अहिले बढ्दो क्रममा छ ।
२, महिनावारी समयमा नहुनु, भए पनि रगत धेरै बग्नु, यौनसम्पर्कका वेला पीडा महसुस हुनु, बाँझोपन तथा अत्यधिक सेतो पानी बग्नु आदि पनि यसका लक्षण हन् । यस्तो समस्या औषधिले पनि तत्काल ठीक गर्दैन ।
३, योबाहेक पाठेघरमा ट्युमर र इन्फेक्सन हुँदा पनि पेट दुख्ने समस्या हुन सक्छ । प्रजनन रोग, अण्डाशय तथा अण्डबाहिनी नलीमा समस्या आउनु, गर्भ्निरोधक औषधिको अनियमित प्रयोगले पनि पेट दुख्ने हुन्छ ।

समाधान

१, पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन ।
२, तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ । तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ ।
३, अदुवापानी तताएर खाँदा दुखाइ कम हुन्छ । सकेसम्म साथीहरूसँग घुम्ने, कुरा सेयर गर्ने अनि आवश्यक आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ ।
डा. आस्था श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ, वयोधा अस्पताल