इटहरी : पूर्वपश्चिम राजमार्गमा पर्ने इटहरीको टेङग्रा पुल जीर्ण बन्दै र्ममतकालागी सडक डिभिजन कार्यालयलाई पत्र मार्फत ध्यानार्कषण गराएको छ ।

अत्यन्त व्यस्त रहने यो सडकको रेलिङ भाँचिएको बषौं भयो । तर, सम्बन्धित निकायले बेवास्ता गरेका कारण अहिले लथालिङ्ग रहेको छ । पूर्वी नेपालको काकडभिट्टा देखि काठमाडौँ जाने र यताबाट पूर्व जाने सडक पनि यहि हो । तर, पुल जिर्ण र खाल्डाखुल्डी हुँदा पनि मर्मत नभएका कारण जोखिम रहेको छ । समयमा मर्मत हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् ।

सन् १९७० मा निर्माण गरिएको पुलको लम्बाइ ३३ दशमलव ६ मिटर र चौडाई ७ मिटर रहेको छ । सडक डिभिजन कार्यालय विराटनगरले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको छ । यसैबीच इटहरी उपमहानगरपालिकाले टेङ्ग्रा पुलको मर्मत गर्नका लागि एक पत्र काटेर ध्यानार्कषण गराएको छ । पुल अत्यन्त जीर्ण रहेको भन्दै उपमहानगरपालिकाले विहीबार पत्राचार गरेको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको लिखित हस्ताक्षर रहेको पत्रमा भनिएको छ ‘एकै दिनमा हजारौ सवारी साधनहरुको आवगमन हुने उक्त पुलको मर्मत पनि नहुने र नयाँ पनि नबन्ने अवस्थाबाट ठुलो दुर्घटना हुने खतरा पैदा भएको व्यहोरा गम्भीरतापूर्वक लिखित रुपमा जानकारी गराइन्छ ।’ यातायात व्यवस्था विभाग काठमाडौँ र भौतिक पूर्वाधार मन्त्रालय काठमाडौँलाई बोधार्थ उल्लेख गरिएको उक्त पत्रमा भनिएको छ ‘यस कार्यालयबाट लेखिएको यो पत्र प्रति वेवास्ता गरिएमा स्थानीय तहको जनप्रतिनिधि र स्थानीय उपमहानगरपालिकाको तर्फबाट गम्भीर कदम उठाउँन बाध्य हुनेछौँ ।’

letter

यता सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले भने एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुल निर्माण गर्ने भएकाले अहिलेलाई सामान्य मर्मत मात्र गरेको जानकारी दिए । यसअघि गत फागुन ३ गते मेयर द्धारिकलाल चौधरीले ताकेता गर्दा केही दिनमै मर्मत हुने जानकारी गराएको भएपनि सडक डिभिजन कार्यालयले बेवास्ता गर्दै आएको छ । मेयर चौधरीलाई इन्जिनियर दीपक झाले ठेक्का लागि सकेको हुनाले चाडै काम सुरु हुने जानकारी गराएको भएपनि अहिलेसम्म काम सुरु भएको छैन ।