धरान: अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा समिक्षा राई प्रथम भएकी छिन् ।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना क्रमशः गगन आले मगर, मौषम चौलागाई र रोशन राई भएका छन् । धरान उपमहानगरपालिका, सामाजिक विकास महाशाखाको आयोजना र नगर वाल संजालको सहकार्यमा सम्पन्न प्रतियोगितामा सहभागीहरुले किशोरावस्थाको व्यवस्थापन विषयमा बोलेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुनेहरुलाई क्रमशः ३ हजार, २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद, फ्रेमसहितको प्रमाण पत्र प्रदान गरिएको बालबालिका कार्यक्रम फोकल पर्सन सीता राईले जानकारी दिए ।

नगर बाल संजाल धरानकी अध्यक्ष अप्सरा खत्रीको अध्यतामा सम्पन्न भएको कार्यक्रममा निर्णायकहरु केशव श्रेष्ठ, रत्नबहादुर कटुवाल र मोहन श्रेष्ठ निर्णायकमा रहेका थिए । बालिकाहरु बालकहरुको तुुलनामा हरेक दृष्टीकोणले पछि परेकोले बालिकाको चौतर्फी विकास र सशक्तिकरणलाई महत्व दिनुपर्छ भन्ने सन्देश दिनका लागि अन्तराष्ट्रिय बालिका दिवश मनाउन आवश्यक भएको धरान उपमहानगरपालिकाकी सामाजिक महाशाखा प्रमूख प्रज्ञादेवी निरौलाले बताइन् ।

सुनसरी उद्योग वाणिज्य संघ, धरानमा शुक्रबार सम्पन्न भएको कार्यक्रममा धरानका २० वटा वडाको बाल क्लवलाई सेनेटरी व्याड समेत वितरण गरिएको थियो । कार्यक्रम संचालनको क्रममा नगर बाल संजालका सचिव निश्चल खड्काले बाल क्लवलाई सकृय बनाएर धरानलाई बाल मैत्री नगरको रुपमा स्थापित गर्न आफुहरु लागिरहेको बताए । कार्यक्रममा उपमहनगरपालिकाकी महिला विकास अधिकृत जुनु राई, बाल संजाल धरानका सल्लाहकार युनेश भण्डारी, नगर बाल संजाल धरानका सदस्यहरु, विद्यालयका शिक्षकहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।