इटहरी : इटहरीमा एकपछि अर्को वित्तीय अपराध खुल्दै गएको छ । इटहरी २० तरहरामा करीब दुई बर्ष अगाडि सिआइबीले छापा मारेसँगै गैर कानुनी रुपमा वित्तीय कारोबारीको संख्या बाहिरिदै आएको हो ।

यस्तै वित्तीय कारोबार गर्ने सुन पसलका सञ्चालकहरुलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । नेपाल राष्ट्र बैँकबाट बैकिङ कारोबारको अनुमति नलिई सुन पसल मार्फत पासबुक छपाई गरी पैसा संकलन गरेको आरोपमा इटहरी ६ मा कान्तिपुर गहना भण्डार सन्चालन गर्दै आएका सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठ पक्राउ परेका हुन् । उनिहरुले गैर कानूनी रुपले करिब २० लाख नगद बचतकर्ताहरु माझ उठाएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उनीहरुले मिटर ब्याज दिने बहाना बनाएर सर्बसाधारण मानिसहरुको रकम ठगी गर्दै आएको बताए ।

इटहरी ८ का मधुमायाँ कटुवालको ४ लाख ४६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, बराहक्षेत्र नगरपालिका २ बस्ने रञ्जिता कटुवालको ७० हजार, इटहरी ५ बस्ने तारा आर्चायको १ लाख, इटहरी ८ बस्ने कमला श्रेष्ठको २ लाख र मोरङ सुन्दरहरैँचा ५ बस्ने लाल चन्द बस्नेतको ५ लाख २९ हजार पैसा फिर्ता नगरेको प्रहरीमा उजुरी परेको थियो ।

पक्राउ परेका दुवैलाई ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।