पथरी : मोरङको पथरीशनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक विद्यालयका शिक्षकसँग सो बारे अभिमुखीकरण कार्यक्रम राखेको छ । नगर प्रमुख दिलिपकुमार राईले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै यसखाले कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको बताए ।

१० देखि १९ वर्ष उमेर समूहका दुबैखाले विद्यालयका किशोरीका लागि विद्यालयका विषय शिक्षकमार्फत र विद्यालय नगएका किशोरीका लागि महिला स्वास्थ्य स्वयंसेवीकाहरुबाट आइरन चक्की र फोलिक एसिड खुवाइने छ । रगतको कमिबाट हुने रक्त अल्पता सहितका समस्याबाट बच्नका लागि माघ महिनादेखि अभियान सुरु हुने छ । जसमा प्रति हप्ता एउटा एउटाका दरले १३ हप्तासम्म निरन्तर आइरन र फोलिक एसिड खुवाइने छ । त्यसको १३ हप्ता रोकेर त्यसपछि पुनः १३ हप्ताका लागि उनीहरुकै लागि आइरन र फोलिक एसिड खुवाइने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । सो चक्की माघ, फागुन र चैतमा खुवाएपछि पुनः साउन, भदौ र असोजमा खुवाइने छ । सामुदायिकका ४ हजार तथा संस्थागतका पनि करीव ४ हजारको संख्या किशोरीहरुको रहेको उल्लेख छ ।