धरान: प्याराग्लाइडिङको तालिम गर्न धरान आएका पोखरा महानगरपालिका ५ स्थित लेकसाइडका १९ बर्षीय विश्वास गुरुङमाथि छुरा प्रहार भएको छ ।

गुरुङलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले पोखराकै २८ बर्षीय राजेश नेपालीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार घाइते भएका गुरुङ र पक्राउ परेका नेपाली दुवै प्यारापाइलट तालिम लिन धरान आएका हुन् । उनीहरु धरान १६ स्थित बिमल बिश्वकर्माको घरमा डेरा गरी बसेका थिए । दुवैबीच पहिलादेखि नै मनमुटाव भएको र पुष १६ गते राती करिब २ बजे राजेशले धारिलो हतियार छुराले गुरुङलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार छुरा प्रहारबाट विश्वासको घाँटी, कोखा, ढाडको भागमा गम्भीर चोट लागेको छ । घाइते विश्वासको उपचारको क्रममा हाल स्वास्थ्य सुधारोन्मुख रहेको छ भने छुरा प्रहार गर्ने राजेशलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेका नेपालीलाई सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए ।