पथरी : पथरीशनिश्चरे नगरको विद्यालयमा शिक्षक अनुपस्थित रहने गरेको पाइएको नगर अनुगमन समितिले जनाएको छ ।

मंगलबार नगरका विभिन्न विद्यालयमा गरिएको अनुगमनमा एकै विद्यालयमा ७ जना शिक्षक अनुपस्थित रहेको अनुगमन समिती संयोजक तथा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले जानकारी दिइन् । नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले ३ वटा विद्यालयको अनुगमन गर्दा २ विद्यालयमा लापरबाही भेटी त्यसलाई सुधार्न निर्देशन दिएको छन् ।

वडा नम्वर ३ को जनता माविमा मावि तहका २, निमावि तहका ३, सहयोगी शिक्षक १ र कर्मचारी १ गरी ७ जना अनुपस्थित भेटिएको उपसचिव काफ्लेले बताए ।

त्यसैगरी, सोही वडाको सामाजिक आधारभूत विद्यालयमा ३ जना शिक्षक अनुपस्थित भेटिए । दुवै विद्यालयका प्रधानाध्यापकलाई पठन पाठनमा शिक्षकहरुको लापरवाही तत्काल रोक्न समितिले निर्देशन समेत दिएको छ । समितिले हाजिरी चेक समेत गरेको थियो ।