धरान: धरान १८ स्थित डिपोट स्कुलले धरानका मेयर तिलक राईलाई अभिनन्दन गरेको छ ।

आफ्नो ५७ औ अभिभावक दिवस तथा बार्षिकोत्सवको अवसरमा स्कुलले मेयर राईलाई अभिनन्दन गरेको हो । मेयर राईलाई डिपो विद्यालय व्यवस्थापन प्रमुख तथा पुर्व व्रिटिस गोर्खा मेजर श्रवणकुमार लिम्वुले अभिनन्दन पत्र प्रदान गरेका थिए । मेयर राईले कक्षा १ देखि १० सम्मको अध्ययन डिपोट स्कुलबाट नै गरेका थिए । आफ्नो पुर्वविद्यार्थी धरान उपहानगपालिकाको मेयर भएकोले अभिनन्दन गरिएको स्कुलका प्रिन्सिपल राजकुमार राईले बताए । मेयर राई डिपोका २०४७ व्याचका विद्यार्थी हुन । मेयर राई पुर्वव्रिटिस गोर्खा सैनिकद्धारा संचालित विद्यालयको पुर्वविद्यार्थी र पुर्व व्रिटिस गोर्खा सैनिकका छोरा पनि भएकोले विद्यालय परिवार गौरवान्वित भएको प्रिन्सिपल राईले बताए ।

यसैगरि, १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपाललाई बास्केटवलमा काँस्य पदक जिताउन सफल प्रशिक्षक एवं डिपोटकै खेल प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि अभिनन्दन गरेको छ । उनलाई नगद ५ हजार र अभिनन्दन पत्र प्रदान गरिएको थियो । यसैगरि, टिचिङ स्टाफतर्फ सन्तोष राईलाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो भने नन् टिचिङ स्टाफतर्फ धनबहादुर राईलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मेयर राईले आफुले अध्ययन गरेको स्कुलबाट अभिनन्दित हुँदा गर्व महशुस गरेको बताए । मेयर राईले पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै विद्यार्थीमा प्रतिस्पर्धा हुनु जरुरी रहेको बताए । ‘म डिपोट स्कुलमा भर्ना भएदेखि माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थी हो’, मेयर राईले भने, ‘तितामिठा अनुभवहरु मसँग छ, अहिले हाम्रा सहकर्मी साथीहरु धेरै जना विदेशमा हुनुहुन्छ, केही विद्यार्थी मात्रै धरानमा छौं ।’

डिपोट स्कुलले विगतको तुलनामा धेरै ठूलो फड्को मारेको उनले बताए । युवाहरुलाई समाजले हत्तपत्त विश्वास नगर्ने धारणा राख्दै मेयर राईले भने, ‘युवाहरुले आफ्नो करियर पनि बताउनु छ, पैसा पनि कमाउनु छ र विश्वास पनि जित्नु छ ।’ मेयर राईले व्यवस्थापन पक्षलाई आग्रह गर्दै स्कुलको व्यवस्थापन पक्ष एक पाखे मात्र भइदियो भने प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘यहाहरुकै विद्यार्थी म आज मेयर भएको छु, यहाहरुकै विद्यार्थी प्रविन राई आज यस वडाको वडाध्यक्ष भइसकेको छ,’मेयर राईले भने, ‘पूर्व विद्यार्थीहरुलाई उपस्थित गराउनुस्, तपाइहरुलाई सहयोग गर्छ ।’ समाजको हरेक पक्षलाई स्कुलले समावेश गर्न सक्यो भने पहुँचमा पनि विस्तार हुन सक्ने उनले सुझाव दिए । उनले व्यवस्थापन पक्ष एक पाखे मात्र नहुन आग्रह गर्दै पूर्वविद्यार्थीहरुलाई पनि समावेश गर्न आग्रह गरे ।

कार्यक्रममा कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्ककार वितरण गरिएको थियो । यसैगरी कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, विज्ञान प्रदर्शनी, कम्प्युटर प्रदर्शनी, कविता, साहित्य, नाटक, फेशन शो लगायत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सोही वडाका वडाध्यक्ष प्रविण राई(नरेन्द्र) लगायत वुद्धिजिवि अयभिभावक, समाजसेवीको उपस्थिति रहेको थियो ।

depot1