धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको सञ्चालक परिषद(सिनेट) सदस्यमा मोरङका एक प्रदेश सांसद र धरान उपमहानगरपालिकाकी उपमेयर मनोनित भएका छन् ।

स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानको सहकुलपतिसमेत रहेका भानुभक्त ढकालले रिक्त रहेको २ वटा सिनेट सदस्य पदमा सांसद राजकुमार ओझा र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई नियुक्त गरेका हुन् । ओझा मोरङको निर्वाचन क्षेत्र नं ३ खबाट प्रदेशसभामा निवार्चित भएका हुन् । दुवैलाई प्रतिष्ठानको ऐनको दफा ७ को उपदफा (१) वमोजिम कार्यकारिणी समितिको सिफारिशमा सिनेट सदस्यमा मनोनयन गरिएको मन्त्री ढकालले दुवैलाई पठाएको पत्रमा उल्लेख छ । प्रतिष्ठानको ४३ औं सिनेट बैठक यही पुष २५ गते राजधानीमा हुदैछ । प्रतिष्ठानमा धरान उपमहानगपालिकाका मेयर पनि पदेन सिनेट सदस्य हुन्छन् । अब मेयर र उपमेयर दुवै सिनेट सदस्य भएका छन् ।

bpkihs1

सञ्चालक परिषद(सिनेट) प्रतिष्ठानको सर्वोच्च निकाय हो । प्रतिष्ठानको बजेट, नीतिगत निर्णयहरु सबै सिनेट बैठकबाट हुने गर्छ । प्रतिष्ठानको सिनेट सदस्य कुल २३ जना हुन्छन् । यसको अध्यक्ष सहकुलपति एवं स्वास्थ्य मन्त्री हुन्छन् भने सदस्य सचिव प्रतिष्ठानको उपकुलपति हुन्छन् । प्रतिष्ठानको पदाधिकारीबाहेक समाजसेवी, बुद्धिजिवि, व्यापारी र उद्योगपतिहरुमध्येबाट सिनेट सदस्य नियुक्त गर्न सक्ने व्यवस्था छ । ऐनमा व्यवस्था भएअनुसार नै सांसद ओझा र उपमेयर भण्डारी सिनेट सदस्यमा मनोनित भएको उपकुलपति डा.गुरु खनालले जानकारी दिए ।