झापा : दमक नगरपालीकाले नगरका एकल महिलाहरुलाई उद्यमशिल बनाउन विभिन्न सिपमुलक तालीम दिएसँगै एकल महिलाहरु उत्साहित भएका छन् ।

नगरले ०७५/०७६ मा बिनियोजित ३ लाख रुपैयाँ बजेटबाट सेनेटरी प्याड तथा जाडोमा लगाउने जुत्ता बनाउने तालिम दिएपछि उनिहरु स्वरोजगार बनेका हुन् । अहिले दमक नगरपालीकाको एक पुरानो भवनको एक कोठामा बिहान ११ बजे पछि एक दर्जन बढी महिलाहरुको भिड शुरु हुन्छ । त्यो अरु केही नभएर दमक नगरपालीकाले उपलब्ध गराएको एकल महिलाको लागी शिपमुलक तालीमको सहभागीहरुको भिड हो । यो तालीममा भाग लिन दमक ३ की फुलमायाँ राई पनि आउछिन् । उनको ७ वर्ष अघि श्रीमान गुमाएपछि संघर्ष गरेर छोरा छोरीको पालन पोशन गर्दै आएको बताउछिन् । उमेरले भर्खर ३८ को हाराहरीमा पुगेको भएनी छोराछोरीको मायाले गर्दा दोस्रो विवाह नगरेको बताउछिन् । एकल भएर समाजमा संघर्ष गर्नु धेरै समस्या भएको उनको भोगाइ छ । हाल बेलडाँगीमा सामन्य किराना पसल गरेर घर खर्च र छोराछोरीलाई स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएको उनी बताउँछिन् । दमक नगरले एकल महिलालाई विभिन्न सिप मुलक तालिम दिइएको आफुले खबर पाएपछि दृढ इच्छाका साथ सिप सिकेको र यहाँ सिकेको सिपलाई सही सदुपयोग गरि जिबिकोपार्जनमा प्रयोग गर्ने राईको भनाइ छ । फुलमाया राई त एक प्रतिनिधि पात्रमात्रै हो ।

दमक नगरपालीकाले एकल महिलालाई लक्षित गरेर नगरको १० वडाबाट २ जनाको प्रतिनिधित्व हुने गरे २० जनालाई सहभागि गराएर सेनेटरी प्याड र जाडोमा लगाउने जुत्ता चप्पल बनाउने तालीम दिएको हो । नगरपालिकाले एकल महिलाहरुलाई एक्लोपनबाट टाढा राख्न विभिन्न सिपमुलक तालीम दिएर आय आर्जनसंगै उद्यमशिल बनाउन यस्तो सिपमुलक तालीम प्रदान गरेको नगरपालीकाले जनाएको छ ।

उनीहरुलाई गत असोजमा ३ लाख रुपैयाँ विनियोजन गरेर सेनेटरी प्याड बनाउन तालीम दिएको थियो । तालीम पश्चात ४ लाख ६८ हजार बराबरको सेनेटरी प्याड बिक्रि भएको नगरपालीकाले जनाएको छ । यसमा भएको मुनाफाले पुनः जाडोलाई मध्यनजर गर्दै जुत्ता चप्पल उत्पादन गर्न थालेका छन् । गत मंसिरमा १५ दिने तालीम लिएपछि अहिले धमाधम जुत्ता उत्पादन गर्न थालेका हुन् । १२ जना सहभागी जुत्ता उत्पादनमा नगरलेनै आवश्यक कच्चा पदार्थहरु उपलब्ध गराएपछि काम गर्न सहज भएको दमक २ की निर्मला श्रेष्ठको भनाई छ ।

दमक १ की उमा काफ्लेको पनि अवस्था उस्तै छ १२ बर्ष अघि देखि एकल जिवन व्यतित गर्दै आएकी उनी घरकै कामको चटारोमा दिनहरु बिताएको बताउछिन् तर नगरले प्रदान गरेको सिपमुलक तालीममा आवद्ध भएपछि एकै अवस्थाको साथीहरुसंग काम गर्न पाउँदा रमाइलो लाग्ने गरेको बताउछिन् ।

‘दमकका महिला, उद्यममा पहिला’ भन्ने नारा सहित नगरका एकल महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएको नगरपालीकाको भनाइ छ । तालीममा नगरका प्रत्येक वडाबाट २ जना सहभागी गराएको र अहिले १२ जनाले आयआर्जनको रुपमा जुत्ता चप्पल उत्पादन गरिरहेकोले नगरले आगामी दिनमा पनि एकल महिला लक्षित विभिन्न सिप उपलब्ध गराउँदै जाने र उनीहरुबाट उत्पादित सामग्रीहरुलाई बिक्रि बितरणको लागी नमुना सब्जीबजारमा कोशेली घर स्थापना गर्ने योजना रहेको दमक नगरपालिका महिला तथा बालबालीका शाखा प्रमुख सरिता भण्डारीको भनाइ छ ।

नगरले एकल महिलाहरुलाई बजारको माग र समय सान्दर्भिक सिपमुलक तालीम दिनुपर्ने सरोकारवाला निकायहरुको भनाइ छ । आर्थिक बर्ष ०७६/७७ को तथ्याङक अनुसार दमक नगरपालीकामा २ हजार १ सय १० जना सामाजिक सुरक्षा भत्तामा आबद्ध रहेको नगरपालीकाले जनाएको छ ।