काठमाडौं : पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म जारी रहन्छ । व्रतसँगैं घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।