काठमाडौं : माघे संक्रान्ति एवम् माघी पर्व विशेष उत्साहका साथ आज मनाईदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

विशेषगरी आज नदी, सागर तथा त्रिवेणीमा स्नान गरी पूजा-आजा गर्नुका साथै परिवारमा संगैबसेर घिउँ, चाकु, तरुल, सखरखण्ड, खिँचडी लगायतका परिकार खाने चलन छ । आजदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुने खगोलशास्त्रीय मान्यता छ ।

माघे संक्रान्तिको अवसरमा तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, झापाको कन्काई, पाल्पाको रिडी, काभ्रेको पनौती, दोलालघाट, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा लगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा मनाइ रहेका छन् ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, वार्षिक योजना बनाउने, लगायत काम गर्दछन् । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा माघी महोत्सव आयोजना गरिएको छ ।