पाठेघरको कमजोरीले निःसन्तान समस्या निम्त्याउन ठूलो भूमिका खेलेको हुन्छ । किनकि पाठेघर महिलाको संवेदनशील अंग हो । यहाँ हुने विभिन्न समस्याले निःसन्तानको समस्या निम्त्याउँछ । जन्मजात नै पाठेघरको विकास नहुनु, पूर्ण विकसित नहुनु, पाठेघरमा विकृति देखिनुलगायत विभिन्न कारणले निःसन्तानको समस्या निम्त्याउँछ । पाठेघरको समस्याकै कारण महिलामा पेट दुख्ने, पानी बग्ने, पाठेघरको मुखमा घाउ हुने र बिस्तारै क्यान्सर हुने, महिनावारी अनियमितजस्ता समस्या धेरै देखिने गर्छ ।

पाठेघर विकास नहुने
कतिपय महिलामा जन्मजात नै पाठेघर वा योनीद्वार विकास नहुने समस्या पनि हुन सक्छ । प्रजनन प्रणालीका सबै अंग अर्थात् यौनांगदेखि पाठेघरसम्मका कुनै पनि अंग विकास नहुने यो अवस्थालाई चिकित्सकीय भाषामा ब्लाइन्ड भजाइना, मुलेरियन वा अपसेन्ट युट्रस भनिन्छ । भजाइना प्लास्टी नामक शल्यक्रिया विधिमार्फत यौनांग विकास गरेर यस्ता व्यक्तिलाई शारीरिक सम्बन्ध राख्ने मिल्नेसम्म बनाउन सकिन्छ । तर, यो शल्यक्रिया विधिमार्फत प्रजनन क्षमताको विकास भने गर्न सकिँदैन ।

पाठेघर विकासमा समस्या
पाठेघरको विकासको क्रममा आउने विविध समस्या निःसन्तान हुनुको अर्को कारण हो । जस्तै, पाठेघरको पूर्ण विकास नहुनु, पाठेघर दुईवटा हुनु, पाठेघरको मुख बन्द हुनु, पाठेघरको नलीको विकास नहुनुलगायत ।

मुलेरियन डक्ट दुईतिरबाट आएर एकआपसमा जोडिएपछि पाठेघरको विकास सुरु हुन्छ । तर, कतिपयमा मुलेरियन डक्ट एकआपसमा नजोडिएर छुट्टाछुट्टै विकास हुन्छ, दुईवटा पाठेघर निर्माण हुने यस्तो अवस्थालाई चिकित्सकीय भाषामा युटेराइन डाइटेन्सिस भनिन्छ । कतिपयमा पाठेघरको केही अंश एक-आपसमा जोडिने र केही अंश नजोडिने अवस्था पनि निम्तिन सक्छ, जसलाई पाइकर्निस युट्रस भनिन्छ । पाइकर्निस युट्रस भएका कतिपयमा पाठेघरको मुख बेग्लै हुने समस्या पाइन्छ, कतिपयमा दुईवटा पाठेघरको मुख एउटै पनि हुन सक्छ ।

जन्मजात नै पाठेघरको विकास नहुनु, पूर्ण विकसित नहुनु, पाठेघरमा विकृति देखिनुलगायत विभिन्न कारणले निःसन्तानको समस्या निम्त्याउँछ । पाठेघरको विकाससँगै पाठेघरको नली पनि विकास हुने गर्छ । दुईवटा पाठेघर भएको व्यक्तिमा पाठेघरको नली पूर्ण विकास भएर गर्भ रहन पनि सक्छ, तर पाठेघरको आकार सानो हुने भएकाले अन्ततः गर्भ बसेर पनि खेर जान्छ ।

पाठेघर सानो हुने समस्या
प्रजनन प्रणालीअन्र्तगतका सबै अंग विकसित भए पनि हार्मोनको कमीका कारण केही व्यक्तिमा पाठेघर पूर्ण विकास हुँदैन, यसलाई चिकित्सकीय भाषामा हाइपोप्लास्टिक युट्रस भनिन्छ ।

गर्भ रहनका लागि स्वस्थ्य पाठेघरको लम्बाइ सात सेन्टिमिटर, उचाइ पाँच सेन्टिमिटर र मोटाइ दुई सेन्टिमिटर हुनुपर्छ । पाठेघरको आकार साढे चारदेखि पाँच सेन्टिमिटरको लम्बाइ भएको अवस्थामा पनि केही महिलाले बच्चा जन्माइरहेका हुन्छन्, तर यस्ता घटना निकै कम हुन्छन् । सामान्यतः पाठेघरको आकार धेरै नै सानो भए गर्भ रहन सक्दैन । शरीरमा हर्मोनको कमी भएर महिलाको पाठेघर सानो हुने हो । यदि, महिलाको पाठेघर ४ देखि ५ सेन्टिमिटरसम्मको छ भने हर्मोन सप्लिमेन्टको प्रयोगबाट यसलाई बढाउन सकिन्छ ।

उपचार
सामान्यतया १५ वर्षभित्रमा पाठेघरको पूर्ण विकास भइसक्ने हुदाँ महिनावारी चक्र सुरु हुन्छ । १५ वर्ष पुगिसक्दा पनि कुनै किशोरी महिनावारी भइनन् भने उनको प्रजनन प्रणालीमा कमजोरी छ भनेर बुझ्नुपर्छ । त्यस्तै, पाठेघरको पूर्ण विकास नभएमा वा सानो भएमा वा विभिन्न कारण समस्या उत्पन्न भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ । समयमै जाँच गराउँदा पाठेघर र प्रजननसम्बन्धी समस्याको उपचार सहज हुन्छ ।

डा. भोला रिजाल, वरिष्ठ स्त्री तथा प्रजननरोग विशेषज्ञ, ह्याम्स अस्पताल