झापा :  झापाको बिर्तामोडमा एक जनालाई आगोले जलाएर हत्या गरिएको छ । जलाएर हत्या गरिएको मान्छेको सनाखत हुन नसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपानेमा उक्त घटना भएको हो । स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगो लगाएर हत्या गराएको हुन सक्ने प्रहरीको आशङ्का छ । स्थानीयले खेतमा जलेको अवस्थमा शव देखेपछि मंगलबार विहान प्रहरीलाई खबर गरेका थिए ।

‘घटनाको प्रकृति हेर्दा परालको कुन्युभित्र मान्छे राखेर बाहिरबाट पराल जलाएको देखिन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, जलेको अवस्थामा फेला परेको शव महिला वा पुरुष कसको भन्ने खुलाउने अवस्था छैन ।’ अहिले प्रहरी टोलीले घटनास्थलमै अनुसन्धान गरिरहेको उनले बताए ।