काठमाडौं : प्रधानमन्त्री केपी ओली ११ फागुनमा ६९ वर्ष पुग्दै छन् । उनी स्वास्थ्य अनुकूल हुनासाथ दैनिक कार्यमा क्रियाशील भइहाल्छन् ।

डायलासिस गर्दाबाहेकका दिनमा सक्रियता बढाइहाल्छन् । आगन्तुकसँग भेटघाट गर्छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । उनी मंगलबार तीनवटा कार्यक्रममा व्यस्त भए। मंगलबार दिउँसो अखिल नेपाल महिला संघको शपथग्रहण कार्यक्रमका लागि राष्ट्रिय सभागृह पुगे । साँझ सम्पादकसँग भेटघाट गरे ।

चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई कहाँ राख्ने भन्नेबारे बैठकमा उनले सहभागिता जनाए । यसअघि उनले १५ माघमा नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरेका थिए । बैठक समापनमा पनि उनको सहभागिता रह्यो ।

प्रधानमन्त्री ओलीले डायलासिस कति पटक गरे ? यसको यकिन गणना कसैले गरेको छैन । उनले मंगलबार साँझ सम्पादकहरूसँगको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए । ‘किन प्रत्यारोपण गर्ने भनेर सोध्नुहोला, अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्नका लागि हो’, उनले भने ।

ग्रान्डी अस्पतालमा गत कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो । उनले केही समययता मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराउँदै आएका छन् । उनी १० मंसिरमा गम्भीर बिरामी परेका थिए । एपेन्डिसाइटिसको शल्यक्रियापछि सरकारी अस्पतालमै उनले डायलासिस गराउन थालेका हुन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट