झापा : गौरीगंज गाउँपालिकाका अधिकांस सामुदायिक विद्यालयका बालबालिकाहरूले शुद्व खानेपानी पिउन पाएका छैनन् ।

सामुदायिक विद्यालयका बालबालिकाहरूको लागि शुद्व खानेपानीको वैकल्पिक व्यवस्था नगरेकाले विद्यालयमा जडान गरिएका ट्वेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् । सरकारले सबै नागरिकहरुमा शुद्ध खानेपानीको पहुँच पुर्याउने घोषणा गरेपनि गौरीगञ्ज गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयका बालबालिकाहरु ट्यूबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य रहेका हुन् ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ४ कदमगाछी स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद ताजपुरियाले आर्थिक स्रोतको अभावमा विद्यालय परिसरमा खानेपानीको धारा जडान गर्न नसकेको बताए । विपन्न तथा गरिब परिवारका करिब २ सय ५० जना बाबलबालिकाहरू अध्ययनरत छन् । उनीहरू विद्यालय परिसरमा रहेको ट्युवेलबाट आर्सेनिकयुक्त पानी पिउने गरेका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगञ्ज प्राथमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल ताजपुरीयाले खानेपानी योजना सञ्चालनमा आएको भएपनि विद्यालयले आर्थिक स्रोतको अभावमा विद्यालय परिसरमा खानेपानीको धारा जडान गर्न नसकेको बताए । २०२५ सालमा स्थापित सो विद्यालयमा अहिले २ सय २५ भन्दा बढी बालबालिकाहरु अध्ययनरत छन् । प्रधानाध्यापक ताजपुरीयाले शिक्षक तथा बालबालिकाहरुले विद्यालयमा ट्यूबेलको पानी पिउने गरेको बताए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ४ बार्हसुद्दीमा रहेको गौरीया प्राथमिक विद्यालयका करिब ७७ बालबालिकाहरू ट्वेलको आर्सेनिक युक्त पानी पिइरहेका छन् । उनीहरूलाई शुद्व पानी पिउने कुनै व्यवस्था गरिएको छैन् । अधिकांश बालबालिका मुहसर समुदायका बालबालिका अध्ययनरत छन् ।

गौरीगंज गाउँपालिकाको ग्रामीण क्षेत्रका बालबालिकाहरुले शुद्ध पिउने पानी प्रयोग गर्न नपाउँदा बालबालिकाहरु स्वास्थ्यका दृष्टिकोणबाट जोखिममा रहेका छन् । त्यसभेगका अधिकांश बालबालिकाहरुले विद्यालयमा खानेपानीसंगै चर्पीको समेत अभाव झेलिरहेका छन् ।