झापा : संवेदनशील अंग (अण्डकोष सहितको गुप्ताङ्ग) छिनाएर भारतीय नागरिकको हत्या पछि शवलाई परालमा जलाउने दुई जनालाई झापा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका-२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको गरि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराउनु भएको हो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरि स्थानीय ऐनकुमार राजवंशीको खेतको परालमा चौधरी र यादवले शब जलाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो । शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै आएका थिए ।

यसरी भएको थियो हत्या

सोमवार साँझ यादब, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमासंगै बसेर मादक पदार्थ सेवन गरेका थिए । पछि आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गाले प्रहार गरे । ढुङ्गा प्रहारबाट शेख बेहोस भएपछि उनीहरुले पराल राखेको ठाउँसम्म घिसारेर पुर्याए । त्यसपछि शेखको संवेदनशील अंग काटेर शेखलाई परालमा राखेर आगो लगाएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।