झापा : सवैको बुढेसकालको सहारा नै आफ्ना सन्तानहरु हुन् । तर मिक्लाजुङ्ग-९ का ८१ बर्षिया दलबहादुर कार्कीको जिवनमा थकाई मार्ने दिन कहिलै आएन । कार्कीको तेश्रो सन्तान ध्रुव भनिने ५३ बर्षिय तिलक कार्की १० बर्षको उमेर देखि मानसिक रोगका कारण, हिंडेपछि फर्कन नजान्ने वेसुरका कारण फलामे साङलोको भरमा ४३ वर्ष सम्म राख्नु पर्दाको पीडा बुबा दलबहादुर कार्कीलाई मात्र थाहा छ । छोराको यो अवस्था देखेर थाप्लामा हात राख्दै घात गर्न बाहेक केहि गर्न सकदैनन् दलबहादुर ।

कार्की परिवारले आर्थिक विपन्नताका कारण तिलकलाई समयमै उपचार गराउन नसक्दा १० वर्षको उमेरदेखि फलामे साङलोमा बाधेर राख्न बाध्य हुुनुपर्यो । ८१ बर्षिय बुबा दलबहादुरले छोराको उपचारका लागि सामान्य धामि झाक्रि र आफ्नो पहुँचले भ्याएसम्मको त उपचारपनि गराएका छन्। तर उनका छोराको बिराम २० को १९ पनि हुन सकेको छैन । जसका कारण ४३ वर्ष सम्मपनि फलामको साङ्लोमा बाधेर राख्नु परेको छ ।

दलबहादुर आफैपनि बिरामी छन् । उनी आफै पनि पिसाव सम्बन्धिको रोगबाट पीडित छन् । अझ दु:खीलाई जहाँ गएपनी दु:खै दु:ख भनेझै उनका चौथो सन्तानका रुपमा रहका अर्का छोरापनि अशक्त छन् । जसोतसो दु:ख साट्ने आफ्नी श्रीमती पनि १० बर्ष अघिनै संसारबाट बिदा भएपछि दलबहादुरलाई झन् पीडाका पहाडले थिचिरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण कार्की परिवारले छोरालाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउन नसक्दा धामी, झाक्री र बैद्यको भर पर्नु पर्यो । कार्की परिवारको यो पीडालाई कम गर्न सहयोगका प्रयासहरु भईरहेको मानब सेवा समितिका सचिब दिपेन थापा बताउछन् । तर दाताकोमात्रै भरबाट कतिञ्जेल चल्नु भन्दै दलबहादुर आखा भरि आशु पारेर गुनासो गर्छन ।