काठमाडौं : चीनको वुहान सहरमा फसेका नेपाली नागरिकलाई फागुन ३ गते स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको वैठकले वुहानमा फसेका १८० जनालाई लिन विमान पठाउने निर्णय गरेको हो ।

४३ ओटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा

यता, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फिर्ता ल्याइने नेपालीहरुको स्वास्थ्य उपचारका लागि पाटन, वीर र टेकु अस्पतालमा ४३ ओटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार भएको बैठकमा मन्त्री ढकालले ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चारओटा भवन तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीसहित १८५ जनालाई एउटै जहाजमा ल्याउने तयारी भएको जानकारी दिए । समितिका सदस्यहरुले भने सरकारको तयारी फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।