धरान (डेस्क) : सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी पारस यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । आज बिहिबार बिहान ५ बजे ६० वर्षीय यादवको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

इनरुवा बजारमा हाल टिभिएस मोटरसाइकलको शोरुमका संचालक समेत रहेका यादवले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । शोरुममा राखिएको सिसि टिभि फुटेजमा उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए । शोरुमकै अगाडी सटर लगाएर एउटा फलामको पाइपमा पासो लगाई आत्महत्या गरेको देखिएको साथै एउटा ब्याग समेत पीठ्युमा बोकेर झुन्डिएको अवस्थामा यादवको शव फेला परेको हो ।

उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केहि खुलाएको छैन । व्यापारिक कारोबारमा मोटो रकम ऋणमा डुबेकाले तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।