धरान (डेस्क) : फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा-भक्तिपूर्वक पूजा-आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन-कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेशी मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई चारओटा लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ । गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको जनाएको छ ।