इटहरी : लिफ्टिङ गरेको खानेपानी उद्घाटनदेखि शैक्षिक सामाग्री वितरणसम्म गरेर प्रधानमन्त्री केपी शर्मा ओलिले आफ्नो जन्मदिन मनाएका छन् ।

पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन प्रधानमन्त्रीले गरे । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिनमा तेह्रथुमको आठराई गाउँपालिका ४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका हुन् । उनले जन्मघरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन् । ओलीले आजै स्थानीय २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलमसहितको शैक्षिक सामग्री दिएका छन् । त्यसैगरी स्थानीय २ सय वृद्धवृद्धालाई न्यानो कपडा पनि वितरण गरिएको छ ।

69

जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित तत्कालिन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटर बाटोको शिलान्यास गरे ।ओलिलाई सङ्घीय सांसद भवानी प्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयबासीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बीना मगर, सङ्घीय सांसद विजय सुब्बा र गणेश विमली लगायत थिए ।