पथरी : फरार रहेका अपराधीलाई मोरङको पथरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न अपराधमा दोषी ठहरिएका अपराधीलाई पक्राउ गर्न थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यसैक्रममा सामुहिक बलात्कार प्रकरणमा दोषी ठहरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई पथरी प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुनसरीको धरान उपमहानगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृृत्वको टोलीले पक्राउ गरेको हो । १४ वर्षअघि सामुहिक बलात्कार गरेर फरार रहेका विकलाई पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे -१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।

डीएसपी गिरीकाअनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् । घटनापछि प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए । उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यस अघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन् । विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए ।