धरान :  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मोत्सव आफ्नो पुर्ख्यौलि गाउँ तेह्रथुमको आठराई स्थित इवा गाउँमा पुगेर धूमधामले मनाए ।

प्रधानमन्त्रीको जन्मोत्सवको लागि बनाइएको केकका लागि एउटा हेलिकोप्टर नै चार्टर गरिएको थियो । केकको स्वरूप भने सुन्दर नेपालको नक्सा आकारको थियो । हिमाल, पहाड, तराई झल्किने सुन्दर नेपालको नक्सा स्वरूपको केक काटे पछि अहिले प्रधानमन्त्री सामाजिक सञ्जालहरूमा सर्वत्र आलोचित भएका छन् ।

प्रधानमन्त्रीको जन्मोत्सवको केकको बारेमा नेकपा पार्टी कार्यकर्ताले समेत चर्को आलोचना गर्दै स्टाटस लेखेका छन् । नेकपाका अध्यक्ष तथा प्र.म. ओलीले काटेको हुनाले आफ्नो जन्मदिनमा पनि राष्ट्रवादी नेताले आफ्नो देश सम्झेर केक बनाए । जस्ता थुप्रै प्रतिक्रियाहरू सामाजिक सञ्जालमा छाएका छन् ।

त्यसैले केहीले प्रधानमन्त्री ओलीले लिम्पियाधुरा विनाको नेपालको केक बनाएको भनेर समेत आलोचना र व्यङ्ग्य गरेका छन् । यस विषयमा धरान-१४ विजयपुर निवासी डा. राजेन्द्र शर्मा भने यो केकको कुरा नबुझेर आलोचना गरिएको बताउँछन् । अरू देशका राष्ट्र प्रमुखहरूले पनि देशकै नक्सा स्वरूपकै केक कटाने गरेको बताउँछन् । आज भन्दा २ हजार वर्ष पहिले ग्रिसबाट सुरु भएको जन्मोत्सवमा केक कटाने चलनलाई पछिल्लो समय आ आफ्नो तरिकाको बनाउने गरिएको छ ।

पहिले केकको ठाउँमा गोलो रोटी र बिचमा मैन बत्ती राखेर बाल्ने र फुकेर निभाउँदा निस्कने धुवा वाट सुस्वास्थ्य र दीर्घायुको कामना गरिएको भगवान् सम्म पुग्ने विश्वास गर्दै मनाउन थालिएको बताइन्छ । तर पछिल्लो समय यसले ठुलो व्यापकता पाएको र यसैमा प्रधानमन्त्री पनि परेको र आलोचित भएका हुन भन्ने भनाई डा. शर्माको छ ।

कानुनमा के छ त ?
मुलुकी संहिताको दफा १५१ मा पनि राष्ट्रिय गान, झन्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ । यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झन्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने व्यवस्था छ ।

यो बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था त्यसमा छ । नेपालको नक्सा पनि यस्तै संवेदनशील विषय भएकोले यो घटनाले नेपालीहरूको भावनामा ठेस पुगेको प्रतिक्रियाहरू सामाजिक सञ्जालमा छरिएका छन् ।

अध्यक्षले नै टेरेनन् आचारसंहिता
नेकपाको सङ्गठन विभागले बनाएको आचारसंहितालाई चुनौती दिँदै  पार्टि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले धूमधामले जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीको जन्मदिन भव्यरुपमा मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा समेत दियो । जहाँ तीन हजार देखि पाँच हजार मानिसका लागि भव्य भोजको आयोजना भयो । उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।

Nekapa-Rules

गत माघ महिनामा नेकपाले आफ्ना सबै नेता कार्यकर्ताहरूलाई ११ बुँदे आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिताको २ नम्बर बुँदामा जन्मदिन, व्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने उल्लेख छ ।