झापा :   दमक नगरपालिकाले चालू आर्थिक बर्ष २०७६/०७७ का लागि पाँचौ नगरसभामा ल्याएको बजेट छैठौ नगरसभामा आएर ४९ करोडभन्दा बढी कटौती गरेको छ ।

पहिला घोषणा भए बमोजिम बजेट आउने सुनिश्चितता नभएका कारण बजेट कटौती गर्नुपर्ने अवस्था आएको बताइएको छ । पाँचौ नगरसभाले १ अर्व ६५ करोड ४१ हजार ३ सय ५० रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको थियो ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले विनियोजन ऐन २०७६ को पहिलो संशोधन विधेयक २०७६ केहि दिन अघि सम्पन्न छैठौं नगरसभामा प्रस्तुत गर्दै बजेट कटौतीको प्रस्ताव गरेसँगै आफैंले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको पाइएको छ ।

उपप्रमुख अधिकारीका अनुसार बैदेशिक सहायता अन्तर्गत विश्व बैक परियोजना बापत २० करोड बैदेशिक सहयोग हालसम्म प्राप्त नभएको र प्राप्त हुने सुनिश्चितता नभएको, नगर विकास कोषबाट लिइने ऋण १४ करोड २८ लाख हालसम्म ऋण सम्झौता हुन नसकेको नगरसभामा जानकारी गराइएको थियो । प्रारम्भिक चरणमा सबै प्रक्रिया पुर्याएर यो पाउने विश्वासमा रहेका थियौं तर अहिलेसम्म नपाएकाले बजेट कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको हो अधिकारीले भनिन् ।

सामाजिक सुरक्षा भत्ता वापतको १५ करोड रकम सञ्चित कोषबाट व्ययभार नभएर सिधै लाभग्राहीको खातामा जम्मा हुने गरी सम्बन्धित बैंकको खातामा आउने भएकाले यो पनि बजेटबाट हटाइएको सो अवसरमा जानकारी दिइएको थियो । स्थानीय सरकारले आफ्नै बजेट कार्यान्वयन गर्न नसकेको बारम्बार गुनासो आउन थालेपछि नगरसभामार्फत बजेट कटौती शुरु भएको बताइन्छ ।