पथरी  : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विभिन्न काण्डहरु सार्वजनिक भएको भन्दै जनप्रतिनिधिहरु हैसियत बचाउन गाह्रो अवस्थामा रहेको बताएका छन । मोरंङ्गको पथरीशनिश्चरे नगरको छैटौं नगरसभाको उदघाटन् सत्रमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री  घिमिरेले जनप्रतिनिधिहरूले 'माल पाएरपनी चाल नपाएको' अवस्था रहेको बताए । घिमिरेले तीब्र विकास भए पनि जनता सन्तुष्ट नरहेको उल्लेख गरे । राजनीतिक दलले विगतमा अधिकारका लागि मात्र आन्दोलन गर्न सिकाएकाले जनता कर्तब्य प्रति जिम्मेवार नहुँदा असन्तुष्टी बढेको उनको भनाई थियो । देशमा काण्डै काण्ड भइरहेकाले सकारात्मक सन्देश प्रभाव नपरेको हुनाले उनले जनप्रतिनिधिको पनि परीक्षाको घडी आएको जनाए ।

भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ भनेर उफ्रिनेहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने ठाउँमा हुँदा कारवाही गर्न सक्नु पर्नेमा जोड दिँदै मन्त्री घिमिरेले आफ्नो हैशियत जोगाएर काम गर्न जनप्रतिनिधिसँग आग्रह गरे ।

घिमिरेले अब चैत मसान्त भित्र १ नम्बर प्रदेश सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गरिने जनाएका छन । सरकारको यो अभियानलाई सहयोग गर्न स्थानीय तहसंग आग्रह पनि गरेका छन । घिमिरेले शिक्षण संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्था र स्वास्थ्य संस्थाको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने कानुनमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिएका छन् । उनले निषेधित क्षेत्र भित्रे सेवन गरेको पाईएमा १ सय रुपैया सम्म जरिवाना लाग्ने, निषेधित क्षेत्र भित्रका कार्यालयमा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्रको सुचना टाँस गरिनु पर्ने, सूचना टाँस नगरेको पाइएमा ५ हजार जरिवाना लाग्ने र निषेधित क्षेत्र भित्र सुर्तिजन्य पदार्थ बिक्री वितरण वा प्रर्दशनकर्तालाई १० हजार जरिवाना लाग्ने बताए । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन प्रदेश सरकारको अभियानलाई घरघरमा निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

उनले अब कसैले पनि अपाङग बच्चा जन्माउन नपर्ने दाबी गरेका छन् । प्रदेश १ सरकारले स्वास्थ्य संस्थाको निगरानीमा स्वास्थ्य बच्चा जन्माउनका लागि विशेष निगरानी गर्ने भएकाले सपाङ्ग बच्चा जन्माउने बताएका छन् ।

विभिन्न बिकास निर्माणका योजनाका बारेमा समेत जानकारी दिदै अबको १० वर्षमा कालोपत्रे गर्ने काम नै समाप्त हुने दाबी गर्दै उनले अतभूत विकास हुँदै गरेको जनाए । उनले भने, ‘२० वर्षमा विकासको गतिविधि रोकिएको थियो अहिले २ वर्षमा इतिहासमा नभएको अद्भूत विकास भएको छ ।’

पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईको सभापतित्वमा भएको नगर सभामा प्रदेश सभा सदस्यद्वय लीलाबल्लभ अधिकारी, कृष्णकुमारी राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, साविक पथरी गाविसका अध्यक्षद्वय तिलक वान्तवा, मोहन तुम्बापोे नेपाली कांग्रेसका नगर सभापाति ईश्वर थापा, नेकपाका नगर इञ्चार्ज दिनानाथ तिम्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।
दुई दिन सम्म चल्ने नगर सभाले पाँचौं नगर सभाका केही कार्यक्रम संसोधन तथा परिमार्जन गर्नेछ ।