धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १ नं. प्रदेश कमिटीको बैठक आज झापाको बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सुरु भएको छ ।

एक नम्वर प्रदेश कमिटीका नेकपा नेताहरु अहिले विर्तामोड पुगिसकेका छन् । नेकपाको एक नम्वर प्रदेश इन्जार्ज भीम आचार्य, सह इन्चार्जहरु सेरधन राई, सावित्री कुमार काफ्ले, नरेश खरेल संगै प्रदेश नं. एकका नेकपाका सवै सदस्यहरु र एक नम्वर प्रदेशमा रहने सवै केन्द्रिय सदस्यहरु सहभागि भएको नेकपा प्रदेश कमिटीका सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले जानकारी दिए । बैठकमा एक नम्वर प्रदेशका जिल्लाहरुको रिपोर्टिङ, पार्टीको जिम्मेवारी बाँडफाड लगायतका विषयवस्तुमा छलफल भईरहेको बस्नेतले बताए । 

फागुन २० गते भोली झापाको विर्तामोडमा आयोजना हुने प्रदेश स्तरीय भेला तथा प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित प्रदेश नम्बर १ का पार्टी केन्द्रीय नेताहरु, प्रदेश कमिटी सदस्यहरु र १४ वटै जिल्लाका सचिबालय सदस्यहरुको सहभागिता रहनेछ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य रामबहादुर थापा बादल, महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताहरुको सहभागिता रहने बताईएको छ ।
यसैगरी, फागुन २१ गते बुधवार सुखानी सहिद स्मृति दिवसको अवसरमा सुखानीमा हुने सहिद स्मृति सभालाई पनि अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेलले सम्बोधन गर्ने बताईएको छ ।