पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिकाले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ । सोमवार र मंगलवार दुई दिन शिवीर सन्चालन गरिएको हो ।
नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न भएको थियो ।

पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो । ४ सय बढी कृषक सहभागि शिविरमा ५ हजार ७ सय १५ पशुलाई औषधी उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जानकारी दिए ।

मंगलवार वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको औषधी उपचार, ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको थियो । जसमा १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले वताए । पशुपन्छी शाखाको सहयोगमा पथरीशनिश्चरे नगर भित्रका सवै वडामा वाख्रामा पिपिआर, गाइ गोेरु भैसी र राँगामा खोरेत र सुँगुरमा स्वाइन फिवर विरुद्धको खोप लगाइएको छ ।