काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ ।

शनिबार राति एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गरेका छन । एकताको घोषणासभा फागुन २८ गते गर्ने सहमति भएको जनाइएको छ । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा गरी ३ जना अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने दुवै पार्टीबीच सहमति भएको छ ।

एकीकरणपछि बन्ने नयाँ दलको झण्डा भने अहिले राप्रपाले प्रयोग गरिरहेको झण्डालाइ नै प्रयोग गरिने बताइएको छ । यद्यपि चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको स्रोतले जनाएको छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गर्ने सहमति पनि भएको छ ।

यसैगरी पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमल्सिना तथा राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ । एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने एजेन्डामा समेत सहमति भएको जनाइएको छ ।