झापा : झापामा रङ्गको पर्व होली यस पटक रङ्गहीनजस्तै बन्न पुगेको छ ।

हरेक वर्षको होलीमा रंगमय हुने दमक आज सुनसान प्राय देखियो । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले झापासहित अन्यत्र पनि होलीलाई प्रभावित बनाएको छ । झापाको दमक, गौरादह, बिर्तामोड मात्र नभई देशभर यो वर्षको होली गतवर्ष जस्तो मनाइएन ।

झापाको बिर्तामोड, दमक लगायतका शहरहरुमा होलीको दिन जिल्लाकै ठुलो भीडभाड हुने गथ्र्याे । आज त्यहि भीड हुने बिर्तामोडको हनुमान कम्प्लेक्स, दमकको गणतन्त्र चोक, गौरादहको डिपु चोक सुनसान बनेको थियो । जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरीको अनुरोधले सर्वधासारणले गतवर्ष जस्तो होली पर्व मनाएनन् ।

तराईको होली पहाडको भन्दा बृहत मनाइने गरिन्छ । होली आउनुभन्दा हप्तादिन अघि सेतो भेस्ट र कुर्ता जोहो गर्नेहरुले यो वर्ष रंग पनि खरिद गरेनन् । दमकमा रंग र टिसर्टको मारामार व्यापार गर्नेहरु समेत यसपटक निरास बनेका छन् ।
होलीको दिन दमकमा हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो, एक व्यापारी भन्छन्, यसपालीको होली भाइरसले खत्तम पार्याे ।

विगतका वर्षमा यस दिन असाध्यै भिडभाड र चहलपहल हुने शहर तथा बजारका चोक, गल्लीहरुमा समेत यसपटक होलीको रौनक खासै देखिएन । केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको भेटिए पनि अभिभावकहरु भने घरमै बसेर रङ्ग, अबिर एक आपसमा साटासाट गरेको पाइयो । यसको एउटै कारण हो बिश्व समुदायलाई अक्रान्त पारिरहेको कोरोना भाइरस भय ।

बिश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि सबै नेपाली ससङ्कित भए । सरकारले पनि सामुहिक रुपमा होली नखेल्न, भिडभाड नगर्न सबैसँग अनुरोध गरे संगै यस बर्षको होलीमा रौनक नदेखिएको सर्बसाधारणहरु बताउछन् ।